काठमाडौं— अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले १९ लाख ५२ हजार १०० रुपैयाँ नगदसहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रसुवाबाट खटिएको प्रहरी टोलीले गोसाईकुण्ड गाउँपालिका–६, धुन्चे बजारस्थित पासाङ ल्हामु राजमार्गमा स्याफ्रुवेशीबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ४८०७ नम्बरको भाडाको सुमो जाँच गर्ने क्रममा रसुवा गोसाईकुण्ड गाउँपालिका–३ का ३५ वर्षीय मिङमार छिरिङ गुरुङको साथबाट ठूलो परिमाणमा नगद बरामद गरेको हो।

प्रहरी निरीक्षक राजु शाहका अनुसार गुरुङले बोकेको झोलाभित्र १ हजार, ५०० र १०० दरका नोट गरी कुल १९ लाख ५२ हजार १०० रुपैयाँ फेला परेको थियो। रकमको स्रोत पुष्टि गर्न नसकेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीले गुरुङविरुद्ध हुण्डी कारोबार सम्बन्धी कसूरमा अनुसन्धान अघि बढाएको छ। यसका लागि रसुवा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शाहले जानकारी दिएका छन्।