काठमाडौं— पूँजीबजारमा लगानीकर्ताको पहिचान प्रणालीलाई थप व्यवस्थित र विश्वसनीय बनाउन साउन १ गतेदेखि नयाँ डिम्याट (हितग्राही) खाता खोल्दा राष्ट्रिय परिचय नम्बर अनिवार्य गरिने भएको छ। साथै, पुराना डिम्याट खाताको केवाईसी (ग्राहक विवरण) अद्यावधिक गर्दा पनि राष्ट्रिय परिचय नम्बर समावेश गर्नुपर्ने व्यवस्था लागू हुनेछ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार कम्पनी सञ्चालक समितिको जेठ १३ गते बसेको बैठकले उक्त निर्णय गरेको हो। नयाँ व्यवस्थाअनुसार साउन १ पछि डिम्याट खाता खोल्ने सबै लगानीकर्ताले राष्ट्रिय परिचय नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ भने विद्यमान खाताको केवाईसी अपडेट गर्दा पनि सो नम्बर उपलब्ध गराउनुपर्नेछ।

डिम्याट खाताको संख्या तीव्र रूपमा बढ्दै गएपछि लगानीकर्ताको एकीकृत पहिचान प्रणाली विकास गर्ने, दोहोरो तथा त्रुटिपूर्ण विवरण नियन्त्रण गर्ने र तथ्यांक व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले राष्ट्रिय परिचय प्रणालीलाई पूँजीबजारसँग आबद्ध गर्न लागिएको सिडिएसले जनाएको छ।

यस व्यवस्थाले लगानीकर्ताको अभिलेख व्यवस्थापन थप व्यवस्थित हुने, पूँजीबजारमा पारदर्शिता र विश्वसनीयता बढ्ने तथा नियामकीय निगरानीलाई समेत मजबुत बनाउने अपेक्षा गरिएको छ।