काठमाडौं— अमेरिकाको ओहायो राज्यको टोलेडो सहरमा आयोजित एक सामुदायिक उत्सव नजिक गोली चल्दा कम्तीमा १२ जना घाइते भएका छन्। स्थानीय प्रहरीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ।
प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको खोजी तीव्र बनाएको जनाएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा कम्तीमा दुई पक्षबीच एकअर्कातर्फ गोली प्रहार भएको हुन सक्ने अनुमान गरिएको छ।
घटना टोलेडोको ऐतिहासिक क्षेत्रमा प्रत्येक वर्ष आयोजना हुने सामुदायिक उत्सवको आसपास भएको हो। उत्सवमा सांगीतिक प्रस्तुति, सांस्कृतिक कार्यक्रम तथा स्थानीय ऐतिहासिक घरहरूको अवलोकनजस्ता गतिविधि सञ्चालन भइरहेका बेला अचानक गोली चलेको बताइएको छ।
गोली चलेपछि उत्सवस्थलमा अफरातफरी मच्चिएको थियो। प्रत्यक्षदर्शीहरूका अनुसार लगातार गोलीको आवाज सुनिएपछि उपस्थित मानिसहरू ज्यान जोगाउन चारैतिर दौडिएका थिए।
सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो तथा तस्वीरहरूमा मानिसहरू भागिरहेको र आपत्कालीन सेवाका कर्मचारीहरूले घाइतेहरूको उद्धार गरिरहेको देखिन्छ।
एक प्रत्यक्षदर्शीले आफू साथीहरूसँग सांगीतिक कार्यक्रम हेरिरहेको बेला अचानक धेरै पटक गोली चलेको आवाज सुनेको बताए। उनका अनुसार सबैजना तत्काल भुइँमा पल्टिएका थिए र केहीबेरपछि आफू नजिकै एउटा हतियार फालिएको अवस्थामा देखेका थिए।
उत्सवको सुरक्षामा खटिएका प्रहरीहरू तत्काल घटनास्थलमा पुगेका थिए। ओहायोका गभर्नरले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै यस्ता सामुदायिक कार्यक्रम परिवार र बालबालिकाका लागि सुरक्षित हुनुपर्ने बताएका छन्। उनले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरेका छन्।
प्रहरीले घटनाको कारण खुल्न बाँकी रहेको जनाउँदै संलग्न व्यक्तिहरूको पहिचान र पक्राउका लागि अनुसन्धान तथा खोजी अभियान जारी रहेको जनाएको छ। हालसम्म यस घटनामा कसैलाई पक्राउ गरिएको छैन।





































