काठमाडौं— कालिकोट र प्यूठान जिल्लामा फेला परेका शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले सुरक्षित रूपमा डिस्पोज गरेको छ।

कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका–१ मान्मस्थित एक स्थानीयको बारीमा तथा प्यूठान जिल्लाको नौबहिनी गाउँपालिका–६ लुङस्थित एक स्थानीयको घरमा शंकास्पद वस्तु फेला परेको नेपाली सेनाले जनाएको छ ।

उक्त वस्तुहरूको जानकारी प्राप्त भएपछि नेपाली सेनाबाट खटिएको बम डिस्पोजल टोली घटनास्थल पुगेको थियो। टोलीले आवश्यक सुरक्षा सतर्कता अपनाउँदै शंकास्पद वस्तुहरूलाई सुरक्षित रूपमा डिस्पोज गरेको जनाएको छ।

घटनामा कुनै मानवीय वा भौतिक क्षति नभएको सेनाले जनाएको छ। स्थानीय बासिन्दालाई शंकास्पद वस्तु वा विस्फोटकजस्तो देखिने सामग्री फेला परेमा नछुने र तत्काल सम्बन्धित सुरक्षा निकायलाई जानकारी गराउन आग्रह गरिएको छ।