गण्डकी— जिल्ला प्रहरी कार्यालय कास्कीले समाजमा शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले सञ्चालन गरेको ‘स्विप अप्रेसन’ अन्तर्गत शनिबार विभिन्न स्थानबाट ४० जनालाई नियन्त्रणमा लिएर कारबाही गरेको छ।

प्रहरीका अनुसार वडा प्रहरी कार्यालय बैदामको टोलीले पोखरा महानगरपालिका–१७ दोबिल्ला क्षेत्रमा गरेको जाँचका क्रममा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने दुई जना र ट्राफिक नियम उल्लङ्घन गर्ने आठ जनामाथि कारबाही गरिएको छ।

त्यसैगरी पोखरा–२३ र २४ को घाँटीछिना क्षेत्रमा मापसे गरेर सवारी चलाएका नौ जना तथा ट्राफिक नियम उल्लङ्घन गरेका दुई जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिएका छन्।

वडा प्रहरी कार्यालय बगरबाट परिचालित टोलीले पोखरा–१६ अकलामा लागुऔषध सेवन गरी सवारी चलाउने एक जना, मापसे गर्ने तीन जना र ट्राफिक नियम उल्लङ्घन गर्ने चार जनामाथि कारबाही गरेको छ।

यस्तै, माछापुच्छ्रे गाउँपालिका–८ भेडाभारी क्षेत्रमा मापसे गरी सवारी चलाएका चार जना, सवारीको स्वरूप परिवर्तन गरी चलाउने एक जना र ट्राफिक नियम उल्लङ्घन गर्ने छ जनालाई पनि नियन्त्रणमा लिएर कारबाही गरिएको प्रहरीले जनाएको छ।

अभियानका क्रममा गण्डकी प्रदेश प्रहरी कार्यालयको केनाइन शाखाबाट परिचालित तालिमप्राप्त कुकुरसहितको टोली पनि सवारी जाँचमा परिचालन गरिएको थियो।

प्रहरीले रातिको समयमा होहल्ला गर्ने, सार्वजनिक शान्ति भंग गर्ने, गाँजा तथा अन्य अवैध लागुऔषध सेवन गर्ने र जुवातासजस्ता गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिविरुद्ध नियमित रूपमा ‘स्विप अप्रेसन’ सञ्चालन गर्दै आएको जनाएको छ।

सामान्य अवस्थामा मदिरा वा गाँजाजन्य पदार्थ सेवन गरेका व्यक्तिलाई सम्झाइबुझाइ अभिभावकको जिम्मा लगाइने गरिएको छ भने आपराधिक पृष्ठभूमि भएका, पटक–पटक यस्ता गतिविधिमा संलग्न हुने वा प्रहरीमाथि दुर्व्यवहार गर्ने व्यक्तिविरुद्ध अदालतमा मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।