अछाम— अछामको कमलबजार नगरपालिका–७ स्थित क्वाल्लेख क्षेत्रमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

शनिबार राति तुर्माखाँद गाउँपालिका–३ का २६ वर्षीय पुष्प बुढाले चलाएको से १ ज ६१३ नम्बरको जिप सडकबाट करिब २०० मिटर तल खस्दा कमलबजार नगरपालिका–७ का ३४ वर्षीय कर्ण भाट गम्भीर घाइते भएका थिए। उपचारका लागि जिल्ला अस्पताल मङ्गलसेन पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

दुर्घटनाको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय कमलबजारबाट प्रहरी निरीक्षक सरोजकुमार कैलाको नेतृत्वमा गएको टोलीले घाइतेहरूको उद्धार गरी अस्पताल पुर्‍याएको थियो।

प्रहरीका अनुसार दुर्घटनामा कर्ण भाटका १३ वर्षीय छोरा मीनबहादुर भाट र सोही स्थानका ३० वर्षीय बद्री भाट पनि घाइते भएका छन्। दुवैलाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत रेफर गरिएको छ।

घटनापछि जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।