काठमाडौं— नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयसीमा अन्तिम पटकका लागि लम्ब्याएको छ।
पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णयअनुसार अब क्रियाशील सदस्यता अद्यावधिक गर्ने काम आगामी जेठ २८ गते राति १२ बजेसम्म गर्न सकिने भएको छ। यो जानकारी कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले दिएका हुन्।
कांग्रेसका अनुसार देशभर सदस्यता अद्यावधिक अभियान सन्तोषजनक रूपमा अगाडि बढिरहेको छ। यद्यपि विभिन्न जिल्ला तथा स्थानीय तहबाट निर्धारित समयभित्र प्रक्रिया पूरा गर्न कठिनाइ भइरहेको जानकारी प्राप्त भएपछि समय थप्ने निर्णय गरिएको हो।
कार्यवाहक मुख्यसचिव दुलालले सम्बन्धित निकायहरूबाट थप समयको माग आएकाले समितिको निर्णयबमोजिम अन्तिम अवसरका रूपमा म्याद थप गरिएको बताए।
पार्टीले नयाँ समयसीमाभित्र सबै क्रियाशील सदस्य तथा सम्बन्धित पार्टी संरचनाहरूलाई सदस्यता अद्यावधिकको कार्य अनिवार्य रूपमा सम्पन्न गर्न अनुरोध गरेको छ।






































