चितवन— बढ्दो गर्मीसँगै विद्युत् खपत उच्च दरमा बढेपछि नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले अत्यावश्यकबाहेकका विद्युतीय सामग्रीको प्रयोग कम गर्न उपभोक्तासँग अनुरोध गरेको छ।

वितरण केन्द्रका प्रमुख राजेन्द्रकुमार चौधरीका अनुसार अत्यधिक विद्युत् मागका कारण प्रसारण तथा वितरण लाइन र ट्रान्सफर्मरमा ओभरलोडको समस्या देखिएको छ। यसले भोल्टेज घट्ने, ट्रान्सफर्मर पड्किने, तार पग्लिने तथा विद्युत् आपूर्तिमा अवरोध आउने अवस्था सिर्जना गरेको छ।

उनका अनुसार गर्मीका कारण घरायसी तथा व्यावसायिक क्षेत्रमा विद्युत् उपकरणको प्रयोग बढ्दा प्रणालीमाथि अतिरिक्त दबाब परेको छ। साथै, ग्रीड सबस्टेशनलाई आधुनिक प्रविधिमार्फत अटोमेसन गर्ने कार्य पनि जारी रहेकाले विद्युत् आपूर्तिमा थप चुनौती देखिएको छ।

भरतपुर महानगरपालिका–११ स्थित सबस्टेशनमा १० वटा पिलर फिडरको अटोमेसन गर्ने काम वैशाख १६ गतेदेखि सुरु गरिएको थियो। हाल उक्त कार्य अस्थायी रूपमा रोकिएको छ।

भरतपुर वितरण केन्द्रबाट दैनिक करिब ६५ मेगावाट विद्युत् खपत भइरहेको छ। १८० मेगावाट क्षमताको यस केन्द्रबाट चनौली वितरण केन्द्रमा समेत विद्युत् आपूर्ति हुने गर्दछ। हाल केन्द्रअन्तर्गत करिब ७५ हजार ग्राहक रहेका छन्।

प्राधिकरणका अनुसार केन्द्रका दुईवटा सबस्टेशनबाट ९०–९० मेगावाट विद्युत् आपूर्ति हुँदै आएको भए पनि गर्मीको समयमा एकैसाथ विद्युत् खपत बढ्दा प्रणालीमा चाप परेको छ। त्यसैले विद्युत् आपूर्ति व्यवस्थापन सहज बनाउन उपभोक्तालाई आवश्यक उपकरण मात्र प्रयोग गर्न आग्रह गरिएको छ।