काठमाडौं— यात्रु लिन वा छोड्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने सवारीसाधनले अब १५ मिनेटसम्म पार्किङ शुल्क तिर्नु नपर्ने भएको छ।

विमानस्थल कार्यालयले यात्रु तथा चालकबाट प्राप्त गुनासो र सुझावलाई ध्यानमा राख्दै ‘पिक एण्ड ड्रप’ सेवाको निःशुल्क समयसीमा सात मिनेटबाट बढाएर १५ मिनेट पुर्‍याएको जनाएको छ।

विमानस्थलका प्रवक्ता सञ्जय कुमारका अनुसार नयाँ व्यवस्था परीक्षणका रूपमा एक महिनाका लागि लागू गरिएको हो। यस अवधिमा यात्रु लिन वा छोड्न आउने सवारीसाधनले १५ मिनेटभित्र बाहिरिए कुनै शुल्क तिर्नुपर्ने छैन।

उनले यात्रुको सुविधालाई प्राथमिकतामा राखेर समयसीमा विस्तार गरिएको बताउँदै तोकिएको व्यवस्थाविपरीत कसैले शुल्क असुलेको पाइए कानुनी कारबाही गरिने चेतावनी दिए।

विमानस्थल कार्यालयले नयाँ व्यवस्थाले यात्रु र सवारी चालकलाई सहजता प्रदान गर्नुका साथै विमानस्थल क्षेत्रको पार्किङ व्यवस्थापनमा समेत सुधार आउने अपेक्षा गरेको छ।