काठमाडौं— तत्कालीन गृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुधन गुरुङको सम्पत्ति र सेयर लगानीको स्रोतबारे उठेका प्रश्नहरूको छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझाएको छ।
शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर समितिले ४५ पृष्ठ लामो प्रतिवेदन हस्तान्तरण गरेको हो। समितिका सदस्य सहन्यायाधिवक्ता नेउपानेका अनुसार प्रतिवेदनमा विभिन्न निष्कर्ष र सुझाव समेटिएका छन्। प्रतिवेदन सार्वजनिक गर्ने विषयमा अन्तिम निर्णय प्रधानमन्त्री कार्यालयबाट हुने बताइएको छ।
मन्त्रिपरिषद्को २०८३ वैशाख २८ गतेको निर्णयअनुसार पूर्वउच्च अदालतका न्यायाधीश अच्यूतप्रसाद भण्डारीको नेतृत्वमा समिति गठन गरिएको थियो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता नेउपाने सदस्य रहेका थिए।
समितिलाई सार्वजनिक रूपमा उठेका आरोप तथा प्रश्नहरूको सत्यतथ्य अध्ययन गरी सरकारलाई आवश्यक सुझावसहित प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको थियो। अब प्रतिवेदन सार्वजनिक भएपछि गुरुङमाथि उठेका विषयमा सरकारको धारणा र आगामी कदमबारे थप स्पष्टता आउने अपेक्षा गरिएको छ।






































