काठमाडौं— आकर्षक तलबसहित विदेश पठाइदिने आश्वासन दिएर लाखौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा खोटाङ घर भई ललितपुर महानगरपालिका–९ बस्दै आएका १८ वर्षीय किशोर, काभ्रेको पनौती नगरपालिका–२ घर भई काठमाडौं महानगरपालिका–३१ बस्ने ३५ वर्षीय अस्कर हुमागाई, मोरङ घर भई काठमाडौं महानगरपालिका–३ बस्ने ४५ वर्षीय पबित्रजंग बुढाथोकी तथा दोलखा घर भई काठमाडौं बूढानीलकण्ठ नगरपालिका–७ बस्ने ४१ वर्षीया बेलु माया तामाङ रहेका छन्।

प्रहरीका अनुसार अस्कर हुमागाई र किशोरले जापान पठाइदिने भन्दै २५ जनाबाट ४० लाख ३० हजार रुपैयाँ असुलेका थिए। यस्तै पबित्रजंग बुढाथोकीले माल्टा पठाइदिने नाममा एक जनाबाट २ लाख ३० हजार रुपैयाँ र बेलु माया तामाङले सर्विया पठाइदिने भन्दै दुई जनाबाट ३ लाख रुपैयाँ लिएको आरोप छ।

रकम लिएपछि सम्पर्कविहीन बनेको भन्दै पीडितहरूले दिएको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो।

पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।