काठमाडौं— सरकारले अध्ययन बिदा तथा असाधारण बिदामा बसेर लामो समयदेखि सम्पर्कविहीन रहेका निजामती कर्मचारीहरूको खोजी सुरु गरेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै बिदा अवधि सकिएपछि कार्यालयमा हाजिर नभएका, कार्यालयको सम्पर्कमा नरहेका तथा राष्ट्रिय किताबखाना (निजामती) मा व्यक्तिगत विवरण अद्यावधिक नगरेका कर्मचारीहरूको अभिलेख अद्यावधिक गर्न निर्देशन दिएको हो।

मन्त्रालयका अनुसार अध्ययन बिदा तथा असाधारण बिदासम्बन्धी विवरण अद्यावधिक नभएका कर्मचारीहरूले सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र राष्ट्रिय किताबखाना (निजामती) मा आफ्नो अभिलेख अद्यावधिक गराउनुपर्नेछ।

यस्तै, सबै मन्त्रालय, आयोग, सचिवालय तथा केन्द्रीय कार्यालयहरूलाई विभिन्न समयमा अध्ययन वा असाधारण बिदा स्वीकृत भएका कर्मचारीहरूको विवरण, बिदा अवधि समाप्तिपछि हाजिर भए–नभएको अवस्था तथा अन्य आवश्यक जानकारी यकिन गरी तीन दिनभित्र अभिलेख अद्यावधिक गर्न आग्रह गरिएको छ।

सरकारले कर्मचारीहरूको अभिलेख व्यवस्थापनलाई व्यवस्थित बनाउन र लामो समयदेखि सम्पर्कविहीन रहेका कर्मचारीहरूको अवस्था स्पष्ट गर्न यो प्रक्रिया अघि बढाएको जनाएको छ।