महोत्तरी— महोत्तरीको बर्दिवास नगरपालिका–१४ स्थित मुसहर बस्तीका १६ जना नेपाली कामदार भारतको हरियाणा राज्यमा रहेको एक कुखुरा फार्ममा बन्धक बनेको आरोप सार्वजनिक भएको छ। बन्धक परेकामध्ये १० जना पुरुष र ६ जना महिला रहेका छन्।

इलाका प्रहरी कार्यालय बर्दिवासका अनुसार उनीहरूलाई आकर्षक तलब, सेवा–सुविधा र सहज कामको प्रलोभन देखाएर भारत लगिएको थियो। स्थानीय दिलीप परियारले गत चैत १३ गते रोजगारीका लागि हरियाणाको जिन्द जिल्लाअन्तर्गत झाझर थाना क्षेत्रको हेलन गाउँस्थित कुखुरा फार्ममा पुर्‍याएको बताइएको छ।

कामदारका आफन्तहरूले उनीहरूलाई जबर्जस्ती काममा लगाइएको, ज्याला नदिइएको तथा बाहिर निस्कन नदिई नियन्त्रणमा राखिएको भन्दै उद्धारको माग गरेका छन्। यस सम्बन्धमा पीडित परिवारका सदस्यहरूले प्रहरीसमक्ष निवेदन दिएका छन्।

बन्धक परेकामध्ये एक युवतीले साहुको नजर छल्दै फोनमार्फत आफूहरूलाई धम्की, डरत्रास र यातना दिएर राखिएको जानकारी दिएको प्रहरीले जनाएको छ। उनले आफूहरूले काम गरेबापतको पारिश्रमिक समेत नपाएको गुनासो गरेकी छन्।

घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बर्दिवासले आवश्यक समन्वय प्रक्रिया अघि बढाएको जनाएको छ। पीडित परिवारले भारतस्थित नेपाली दूतावाससँग समन्वय गरी तत्काल उद्धार गर्न सरकारसँग आग्रह गरेका छन्।