तनहुँ— तनहुँको म्याग्दे गाउँपालिका–६ मनहरीमा बिहीबार बिहान एम्बुलेन्स र मिनी ट्रक एकापसमा ठोक्किँदा सात जना घाइते भएका छन्।
पृथ्वीराजमार्गमा पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग१ख ५६५९ नम्बरको मिनी ट्रक र विपरीत दिशातर्फ गइरहेको लु.प्र.०१–००१ झ ००४६ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेका हुन्।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार एम्बुलेन्समा सवार छ जना र मिनी ट्रक चालक गरी सात जना घाइते भएका छन्। घाइतेमध्ये रोल्पाको थवाङ गाउँपालिका–२ की २५ वर्षीया अन्जना बुढा मगरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
घाइतेहरूको बेलचौतारास्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






































