विर्तामोड— नेपाली कांग्रेसले आगामी निर्वाचनमा पार्टीभित्र प्रि–इलेक्शन गराएर प्राप्त लोकप्रिय मतका आधारमा उम्मेदवार चयन गर्ने तयारी गरेको जनाएको छ।
विर्तामोडमा बुधबार आयोजित नेपाली कांग्रेस झापाका जिल्ला, क्षेत्र, प्रदेशसभा क्षेत्र तथा गाउँ–नगर पदाधिकारीहरूको संयुक्त भेलालाई सम्बोधन गर्दै कांग्रेस सहमहामन्त्री डा. डिला संग्रौलाले यस्तो जानकारी दिइन्।
उनले पार्टीको महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्न ‘जरा अभियान’ अन्तर्गत क्रियाशील सदस्यता अध्यावधिक कार्यलाई तीव्र बनाउनुपर्ने आवश्यकता औंल्याउँदै सबै तहका संगठनलाई सक्रिय हुन आग्रह गरिन्।
संग्रौलाले जेठ २० गते एकैदिन ६२ हजारभन्दा बढी सदस्यले क्रियाशील सदस्यता नवीकरण गरेको उल्लेख गर्दै ‘जरा अभियान’ लाई पार्टीको नयाँ यात्राको आधार भएको बताइन। उनका अनुसार सदस्यता व्यवस्थापन, नीति–कार्यक्रमको जानकारी तथा सुझाव संकलनलाई व्यवस्थित बनाउन डिजिटल प्रविधिको प्रयोग गरिएको छ।
युवा पुस्तालाई पार्टीमा आकर्षित गर्न अनलाइन सदस्यता खुला गरिएको बताउँदै उनले आवेदनको टुंगो लगाउने अधिकार वडा र क्षेत्रीय तहलाई दिइएको तथा विवादित विषयमा मात्रै केन्द्रले निर्णय गर्ने स्पष्ट पारिन।
भेलामा ‘जरा अभियान’ का झापा प्रतिनिधि बसन्त भट्टराईले अभियानलाई प्रभावकारी बनाउन प्राविधिक व्यवस्थापन र सूचना प्रवाहलाई सुदृढ बनाइएको बताइन्।
झापा सभापति देउकुमार थेवे ले जिल्लाका १३१ वटै वडामा सदस्यता अध्यावधिक कार्य जारी रहेको जानकारी दिँदै प्राविधिक जनशक्तिको अभावका कारण केही स्थानमा समस्या देखिएको बताइन।
कार्यक्रममा विभिन्न क्षेत्रीय तथा स्थानीय तहका नेताहरूले सदस्यता अध्यावधिक कार्यको प्रगति विवरण प्रस्तुत गर्दै उत्साहजनक सहभागिता रहेको बताएका थिए। उनीहरूले सर्भर समस्या, सरुवाको रेकर्ड नदेखिने लगायतका प्राविधिक चुनौती रहे पनि काम निरन्तर जारी रहेको जानकारी दिए।
भेलाले क्रियाशील सदस्यता अध्यावधिक कार्यका लागि आगामी असार १५ गतेसम्म म्याद थप गर्न केन्द्रीय समितिसँग माग गर्ने निर्णयसमेत गरेको कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिइन्।






































