काठमाडौं— लुम्बिनी प्रदेश सरकारमा सहभागी नेकपा एमालेका चार मन्त्रीले बुधबार सामूहिक रूपमा राजीनामा दिएका छन्।

मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, स्वास्थ्य मन्त्री खेमबहादुर सारू तथा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री सीता शर्मा चौधरीले पदबाट राजीनामा बुझाएका हुन्।

मुख्यमन्त्री आचार्यले मन्त्रीहरूको कार्यकालको प्रशंसा गर्दै उनीहरूलाई धन्यवाद दिएका छन् भने बुझाइएका राजीनामा स्वीकृतसमेत गरेका छन्।

प्रदेश सरकारको संरचना पुनर्गठन गर्ने योजनाअनुसार मन्त्रीहरू परिवर्तन गरिएको जनाइएको छ। यसअघि नै लुम्बिनी सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालयको संख्या घटाएर आठमा सीमित गर्ने निर्णय गरिसकेको छ।

सत्ता साझेदार दलहरूबीच सरकार पुनर्गठनबारे छलफल जारी रहेका बेला एमालेले आफ्ना मन्त्रीहरू हेरफेर गर्ने कदम चालेको हो। मुख्यमन्त्री आचार्य भने यथावत् रहनेछन् भने एमालेबाट नयाँ मन्त्री चयनका लागि आन्तरिक गृहकार्य भइरहेको बताइएको छ।