काठमाडौं— काठमाडौंको तारकेश्वर–मनमैजु क्षेत्रमा हात्तीको दाह्रा अवैध रूपमा लुकाइराखेको तथा लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा पाँच जना पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले जेठ १९ गते गरेको कारबाहीका क्रममा दुई थान हात्तीको दाह्रा र १५० क्याप्सुल लागूऔषध बरामद गरेको जनाएको छ।

प्रहरीका अनुसार तारकेश्वर–९ स्थित राजिव महर्जनको घर नजिकैको खाली जग्गामा गाडेर राखिएको अवस्थामा हात्तीको दाह्रा फेला परेको थियो। अनुसन्धानलाई विस्तार गर्ने क्रममा थप दुई टुक्रा दाह्रा टोखा–२ निवासी पुरन बोहरासँग र अन्य दुई टुक्रा मनमैजुका सन्तबहादुर भुजेलको कोठाबाट बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा राजिव महर्जन, आयुष महर्जन, टेकप्रसाद गुरुङ, पुरन बोहरा र सन्तबहादुर भुजेल पक्राउ परेका छन्।

प्रहरीले तीन जनामाथि लागूऔषध नियन्त्रण ऐन तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अन्तर्गत अनुसन्धान गरिरहेको छ भने बाँकी दुई जनामाथि वन्यजन्तु संरक्षणसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको जनाएको छ।

पक्राउ परेकालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको प्रहरीले जनाएको छ।