काठमाडौं— काठमाडौं महानगरपालिका–८ र काठमाडौं महानगरप्रहरी बलको संयुक्त टोलीले गुहेश्वरी क्षेत्र नजिक सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका अवैध टहरा तथा अस्थायी संरचनाहरू हटाएको छ। बुधबार गरिएको अनुगमन तथा कारबाहीका क्रममा टोलीले डोजर प्रयोग गरी सार्वजनिक स्थानमा बनाइएका टहरा भत्काएको हो। 

महानगरले सार्वजनिक सम्पत्तिमा अनधिकृत रूपमा निर्माण गरिएका संरचनाहरू हटाउने कार्यलाई निरन्तरता दिने जनाएको छ। साथै, सार्वजनिक जग्गा अतिक्रमण नगर्न र कानुनको पालना गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ।

स्थानीयवासीका अनुसार अव्यवस्थित रूपमा निर्माण गरिएका टहराले क्षेत्रको सौन्दर्यमा असर पार्नुका साथै आवागमनमा समेत समस्या सिर्जना गरिरहेको थियो। महानगरको यस कदमले सार्वजनिक स्थानको संरक्षण र व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।