विराटनगर— कोशी प्रदेशअन्तर्गत झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लागू औषधसहित ११ जनालाई पक्राउ गरेको छ।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार झापाको इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाको संयुक्त टोलीले चेकजाँचका क्रममा मेचीनगर नगरपालिका–१४ का आकाश चौधरीलाई १६ ग्राम ४०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।

यस्तै, प्रहरी चौकी टाघनडुब्बाले दमक नगरपालिका–१० का सुरज राय र विराटनगर–३ का बाबुराम दर्जीलाई १४ ग्राम ८१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले अर्जुनधारा नगरपालिका–७ का बिनोद मगर र भोजपुरको हतुवागढी गाउँपालिका–४ का सागर राईलाई ५ किलो ९० ग्राम गाँजासहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

मोरङमा अस्थायी प्रहरी चौकी कुशलबजारको टोलीले पथरीशनिश्चरे नगरपालिका–८ का रबिन माझी, दुर्गा राई, पवन खत्री तथा कानेपोखरी गाउँपालिका–५ का रमल नेपालीलाई २०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।

त्यसैगरी सुनसरीको अस्थायी प्रहरी चौकी जोरसखुवाले धनकुटाको साँगुरीगढी गाउँपालिका–९ का बिनोद राई र विशाल राईलाई ३७० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका सबै व्यक्तिमाथि लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।