विराटनगर— नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले कोशी प्रदेश तथा मातहतका प्रहरी कर्मचारीलाई व्यावसायिकता, अनुशासन र सेवामुखी व्यवहारलाई प्राथमिकता दिन निर्देशन दिएका छन्।

मंगलबार कोशी प्रदेश प्रहरी तालिम केन्द्रमा आयोजित कार्यक्रममा आईजीपी कार्कीले नेपाल प्रहरीले नागरिकको जन्मदेखि मृत्युसम्मका विभिन्न गतिविधिमा भरोसाको संस्थाका रूपमा भूमिका निर्वाह गर्नुपर्ने बताए। उनले सेवाग्राहीप्रति समान व्यवहार, अपेक्षारहित सेवा र नम्र बोलीचालीसहित कार्यसम्पादन गर्न प्रहरी कर्मचारीलाई आग्रह गरे।

उनले बन्द, हड्ताल, बाढी, पहिरो तथा अन्य विपद्का बेला खटिने प्रहरी सधैं चुस्त, दुरुस्त र शारीरिक तथा मानसिक रूपमा तयारी अवस्थामा रहनुपर्ने उल्लेख गर्दै नियमित व्यायाम, योग र ध्यानलाई प्राथमिकता दिन निर्देशन दिए। खुला सीमा नाकाबाट हुने तस्करी तथा विभिन्न आपराधिक गतिविधि नियन्त्रणका लागि योजनाबद्ध रूपमा प्रहरी परिचालन गरी दोषीलाई कानुनी दायरामा ल्याउनसमेत उनले जोड दिए।

कार्यक्रममा नेपाल प्रहरीका वरिष्ठ अधिकारीहरू, जिल्ला प्रहरी प्रमुखहरू, प्रशिक्षार्थी प्रहरी जवान तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।