काठमाडौं— सङ्घीय संसद्को झण्डासहित विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका प्रतिनिधिसभा सदस्य मिङमा ग्याबु शेर्पालाई सम्मान गरिएको छ।
मंगलबार संसद् भवनस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको हलमा आयोजित कार्यक्रममा सभामुख डोलप्रसाद (डीपी) अर्यालले शेर्पालाई सम्मान गरेका हुन्।
सम्मान कार्यक्रममा सभामुख अर्यालले सगरमाथा आरोहणमार्फत शेर्पाले नेपालको गौरव र सङ्घीय संसद्को प्रतिष्ठालाई अन्तर्राष्ट्रिय स्तरमा थप उचाइमा पुर्याएको बताए। उनले शेर्पाको साहसिक उपलब्धिले युवा पुस्तालाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।
प्रतिनिधिसभा सदस्य शेर्पाले सङ्घीय संसद्को झण्डासहित सगरमाथाको सफल आरोहण गरी नेपालको पहिचान र गौरवलाई विश्वसामु थप उजागर गरेको भन्दै कार्यक्रममा सहभागीहरूले उनको प्रशंसा गरेका थिए।
कार्यक्रममा सांसदहरू, संसद् सचिवालयका पदाधिकारी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।






































