दमक— झापाको शिवसताक्षी नगरपालिका–४ फूलचोकस्थित झापा इनर्जी प्लान्टमा सोमबार दिउँसो आगलागी हुँदा करिब ६ करोड रुपैयाँ बराबरको क्षति भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दिउँसो करिब २ बजे प्लान्टमा अचानक आगो लागेको सूचना प्राप्त भएको थियो। आगलागीको कारण भने हालसम्म खुल्न नसकेको र त्यसबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख बसुन्धरा खड्काले जानकारी दिए।
आगलागीका कारण प्लान्टभित्र रहेका विभिन्न मेसिन, उपकरण तथा अन्य सामग्री जलेर नष्ट भएका छन्। प्रारम्भिक अनुमानअनुसार आगलागीबाट करिब ६ करोड रुपैयाँ बराबरको आर्थिक क्षति पुगेको प्रहरीले जनाएको छ।
शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकाका दमकल, सुरक्षाकर्मी तथा स्थानीयवासीको सक्रिय प्रयासमा आगोलाई करिब एक घण्टाभित्र नियन्त्रणमा लिइएको थियो।
घटनाको कारण, क्षतिको यथार्थ विवरण तथा अन्य पक्षबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।





































