काठमाडौं— सभामुख डिपी आर्यालले प्रतिनिधिसभाको बैठकमा अव्यवस्था सिर्जना गर्ने तथा अमर्यादित व्यवहार प्रदर्शन गर्ने विषयमा छानबिन समिति गठन गरिएको जानकारी दिएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख आर्यालले २०८३ जेठ १७ गतेको बैठकमा केही सांसदहरूले अव्यवस्था सिर्जना गरेको, अमर्यादित तथा आपत्तिजनक व्यवहार प्रदर्शन गरेको र भौतिक हानि–नोक्सानी तथा क्षति पुर्याउने कार्यसमेत गरेको सम्बन्धमा आफूलाई विस्तृत जानकारी प्राप्त भएको बताएका हुन् ।
उनले भने, ‘प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ३३ को उपनियम (४) बमोजिम बैठक समाप्त भएपछि उक्त घटनाबारे विस्तृत जानकारी प्राप्त भएको छ । आजै सो विषयमा मुचुल्का पनि तयार भइसकेको छ ।’
सभामुख आर्यालका अनुसार घटनाबारे आवश्यक थप जाँचबुझ गरी सात दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारीसहित प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ ।
समितिमा संघीय संसद सचिवालयको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख तथा प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेका छन् ।
सभामुखले प्रतिवेदन प्राप्त भएपछि नियमावलीअनुसार आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने पनि स्पष्ट पारे ।
उनले भने, ‘प्रतिवेदन प्राप्त भएपछि प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ३३ को उपनियम (४)बमोजिम आवश्यक कारबाही अगाडि बढाउन सकिने व्यहोरा जानकारी गराउँदछु ।’





































