काठमाडौं— नेकपा (एमाले) ले प्रधानमन्त्री बालेन्द्र शाह ले संसद्मा दिएको भनिएको राष्ट्रहितविपरीत अभिव्यक्तिको विरोध गर्दै प्रदर्शन गरेको छ।
सोमबार काठमाडौंको माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा एमालेका नेता तथा कार्यकर्ताहरू सहभागी भएका थिए। प्रदर्शनकारीहरूले प्रधानमन्त्रीले सदनमा दिएको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमान र सार्वभौमिकतामाथि आघात पुगेको आरोप लगाउँदै उक्त अभिव्यक्ति फिर्ता लिन र संसद्को अभिलेखबाट हटाउन माग गरेका छन्।
प्रदर्शनका क्रममा सहभागीहरूले नाराबाजी गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए। एमालेले प्रधानमन्त्रीको भनाइबारे स्पष्ट धारणा सार्वजनिक गर्न सरकारसँग माग समेत गरेको छ।
प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर पछिल्ला दिनहरूमा संसद्भित्र र बाहिर राजनीतिक दलहरूबीच विवाद चर्किएको छ। विपक्षी दलहरूले उक्त विषयमा सरकारको जवाफ माग गर्दै संसद्मा समेत विरोध जनाउँदै आएका छन्।






































