काठमाडौं— प्रतिनिधि सभाको सोमबारको बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले विरोध जनाएका छन्।
सभामुख डोलप्रसाद अर्याल ले बैठक प्रारम्भ गरेको लगत्तै विपक्षी सांसदहरू आ–आफ्नो स्थानमा उभिएर असहमति प्रकट गरेका हुन्। उनीहरूले प्रधानमन्त्री वालेन्द्र शाह ले आइतबारको बैठकमा दिएको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गरेका छन्।
प्रधानमन्त्री शाहले आइतबारको बैठकमा ‘नेपालले पनि भारतको जमिन मिचेको’ भन्ने अभिव्यक्ति दिएका थिए। उक्त भनाइ आपत्तिजनक रहेको भन्दै विपक्षी दलहरूले त्यसलाई संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गरेका हुन्।
विरोधमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संयुक्त रूपमा सहभागिता जनाएका छन्।






































