नवलपरासी (पश्चिम)— नवलपरासी पश्चिमको सुस्तामा नारायणी नदी किनारमा निर्माण हुन लागेको नयाँ तटबन्धको काममा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले आपत्ति जनाएको छ। आइतबार साँझ निर्माणस्थल पुगेको एसएसबी टोलीले नयाँ ठेक्काअन्तर्गतको काम अघि नबढाउन भनेको स्थानीय र जनप्रतिनिधिले बताएका छन्।

सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायका अनुसार करिब १४ करोड रुपैयाँ लागतको तटबन्ध निर्माण भइरहेका बेला भारतीय पक्षको हस्तक्षेपले अन्योल सिर्जना भएको छ। प्रमुख जिल्ला अधिकारी दीपक नेपालले पनि नयाँ तटबन्ध निर्माणबारे भारतीय पक्षले आपत्ति जनाएको जानकारी आएको पुष्टि गरेका छन्।

घटनाबारे सम्बन्धित निकायलाई जानकारी गराइएको र भारतीय समकक्षीसँग छलफलको प्रयास भइरहेको प्रशासनले जनाएको छ।