झापा— मेचीनगर नगरपालिका–१५ निलकोठीका ५५ वर्षीय रुद्र श्रेष्ठको मृत्यु भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा तनहुँ घर भई सोही क्षेत्रमा रहेको माँ पाथीभारा प्लाई फ्याक्ट्रीमा कार्यरत ३५ वर्षीय रामबहादुर गौतम रहेका छन्।
प्रहरीका अनुसार आइतबार राति श्रेष्ठ र गौतमबीच भएको विवादका क्रममा कुटपिट हुँदा श्रेष्ठ गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा सोमबार बिहान उपचारकै क्रममा मृत्यु भएको हो।
घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको टोलीले गौतमलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।






































