काठमाडौं— सुन तस्करीसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा आरोपित प्रतिनिधिसभाका पूर्वसभामुख कृष्णबहादुर महरा को विशेष अदालतमा बयान जारी रहेको छ।
महरा सोमबार बिहान अदालत खुलेसँगै विशेष अदालतमा उपस्थित भएका थिए। अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य विदुर कोइरालाको इजलासमा उनीसँग बयान तथा सवालजवाफ भइरहेको छ।
अदालत स्रोतका अनुसार बयान प्रक्रिया सकिएपछि आजै थुनछेक बहस हुने तयारी गरिएको छ। महरा भ्रष्टाचार मुद्दामा जारी भएको म्याद बुझेर बयानका लागि अदालत पुगेका हुन्।
विद्युतीय चुरोट (भेप) भित्र लुकाएर नेपाल भित्र्याइएको सुन तस्करी प्रकरणमा सात करोड ७८ लाख रुपैयाँभन्दा बढीको भ्रष्टाचार भएको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले महरासहित भन्सार कर्मचारी र एजेन्टविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।






































