काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले प्रधानमन्त्री बालेन शाहको हालैको अभिव्यक्तिको विरोधमा देशभर मसाल जुलुस निकाल्ने घोषणा गरेको छ।

पार्टीका प्रवक्ता प्रकाण्डले जारी गरेको विज्ञप्तिमा नेपाल–भारत सीमा विवादबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्ति राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता र सार्वभौमसत्ताविरुद्ध रहेको आरोप लगाइएको छ।

विज्ञप्तिमा प्रधानमन्त्रीको भनाइले राष्ट्रको पहिचान र जनभावनामा आघात पुगेको दाबी गर्दै त्यसले सरकारको चरित्र उजागर गरेको उल्लेख गरिएको छ। माओवादीले उक्त अभिव्यक्ति अज्ञानता वा अस्पष्टताका कारण नभई सुनियोजित सोचको परिणाम भएको जिकिर पनि गरेको छ।

पार्टीले प्रधानमन्त्रीको अभिव्यक्तिलाई राष्ट्रहितविपरीत भन्दै त्यसको प्रतिवादस्वरूप आज बेलुकी ७ बजे देशव्यापी मसाल जुलुस आयोजना गर्ने जनाएको छ। साथै, उक्त कार्यक्रममा सहभागी हुन पार्टीपंक्ति तथा देशभक्त नागरिकलाई आह्वान गरिएको छ।