काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा हुन लागेको आफ्नो पहिलो ऐतिहासिक महाधिवेशनको तयारीलाई तीव्र गति दिएको छ। महाधिवेशनलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्नका लागि पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा ‘महाधिवेशन मूल आयोजक समिति’ गठन गरिएको पार्टीका प्रवक्ता कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन्।

उक्त समितिमा पार्टीका शीर्ष नेता, पदाधिकारी तथा विभिन्न मन्त्रीहरूलाई जिम्मेवारी तोकिएको छ। गठन गरिएको मूल आयोजक समितिमा पार्टी उपसभापति एवम् अर्थमन्त्री डा। स्वर्णिम वाग्ले, महामन्त्रीद्वय कविन्द्र बुर्लाकोटी र भूपदेव शाह, सहमहामन्त्री विपिनकुमार आचार्य, कोषाध्यक्ष लिमा अधिकारी, सहकोषाध्यक्ष बसुमाया तामाङ, प्रवक्ता मनिष झा, र सचिवालय सदस्यहरू विराजभक्त श्रेष्ठ तथा दीपकराज बोहरा रहेका छन्।

यसैगरी समितिमा गणेश पराजुली, कानुनमन्त्री सोविता गौतम, परराष्ट्रमन्त्री शिशिर खनाल, हरि ढकाल, सरिता ज्ञवली र सागर ढकाल पनि रहेका छन्। महाधिवेशन तयारीलाई थप व्यापक र पूर्णता दिनका लागि पार्टीका सबै केन्द्रीय सदस्यहरू र सातै प्रदेशका प्रदेश सभापतिहरूलाई समेत यस मूल आयोजक समितिमा समेटिएको महामन्त्री बुर्लाकोटीले बताएका छन्।