काठमाडौं— काठमाडौंको सुकेधारामा एक महिलामाथि खुर्सानीको धुलो छर्केर सुनको सिक्री र मोबाइल लुट्ने घटनामा संलग्न दुई जना प्रहरीको फन्दामा परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार दिउँसो करिब १ः२३ बजे भएको उक्त घटनापछि फरार भएका व्यक्तिहरूको खोजी गर्ने क्रममा राति करिब ९ः२५ बजे काठमाडौं महानगरपालिका–३२ जडीबुटीस्थित मनोहरा करिडोर क्षेत्रबाट उनीहरूलाई प्रहरीले पक्राउ गरको हो।

प्रहरीले पक्राउ गर्न खोज्दा एक आरोपितले प्रहरी कर्मचारीको आँखामा समेत खुर्सानीको धुलो छर्किएको तथा खुकुरी प्रहारको प्रयास गरेको जनाएको छ।

पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिका–३, चपली भद्रकालीका ४० वर्षीय गणेश कार्की र इलाम घर भई काठमाडौंका विभिन्न धर्मशालामा बस्दै आएका ३१ वर्षीय विष्णु गुरुङ रहेका छन्।

कार्कीको साथबाट लुटिएको सुनको सिक्री, मोबाइल फोन र एक थान खुकुरी बरामद गरिएको प्रहरीले जनाएको छ।

दुवै जनाविरुद्ध लुटपाटलगायतका कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। साथै उनीहरूको आपराधिक पृष्ठभूमि र घटनामा अन्य व्यक्तिको संलग्नता भए–नभएको विषयमा पनि अनुसन्धान भइरहेको छ।