काठमाडौं— नवलपुरको गैँडाकोट नगरपालिका–१५, चिन्तामणि टोलमा घरायसी विवादका क्रममा बुबाले खुर्पा प्रहार गर्दा छोराको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी अनिल पण्डितका अनुसार गएराति ४३ वर्षीय शंकर गिरीमाथि उनका ६३ वर्षीय बुबा डम्मर गिरीले खुर्पा प्रहार गरेका थिए।

प्रहरीका अनुसार बुबा–छोराबीच भएको विवाद उग्र बनेपछि डम्मरले शंकरको टाउकोमा खुर्पाले प्रहार गरेका थिए। गम्भीर घाइते भएका शंकरलाई उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज लगिएको थियो। उपचारकै क्रममा शनिबार राति पौने ११ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले डम्मर गिरीलाई घटनास्थलबाटै खुर्पासहित नियन्त्रणमा लिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।