काठमाडौं— आपराधिक लाभ तथा ठगीसम्बन्धी मुद्दामा फरार रहेकी टिकटकर तुलसा अधिकारीलाई इन्टरपोलको रेड नोटिसका आधारमा थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार अधिकारीलाई नेपाल ल्याएर प्रहरी हिरासतमा राखिएको छ। उनी लामो समयदेखि चीनमा बसोबास गर्दै आएकी थिइन्।
प्रहरीका अनुसार अनुसन्धानका क्रममा फरार भएपछि अधिकारीविरुद्ध इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरिएको थियो। चीनबाट थाइल्यान्ड पुगेको अवस्थामा उनलाई पक्राउ गरिएको हो।
अधिकारीविरुद्ध आपराधिक लाभ तथा ठगीसम्बन्धी मुद्दा दर्ता भइसकेको प्रहरीले जनाएको छ। पक्राउपछि उनलाई थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि नेपाल ल्याइएको हो।
प्रहरीले सोमवार उनलाई जिल्ला अदालत ललितपुरमा उपस्थित गराई म्याद थपको प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ। अधिकारीमाथि लगाइएका आरोपबारे थप अनुसन्धान जारी रहने प्रहरीको भनाइ छ।






































