काठमाडौं— सामाजिक सञ्जाल फेसबुकमा भावुक भिडियो पोस्ट गरेपछि सम्पर्कविहीन बनेकी शोभा पाठकलाई प्रहरीले उद्धार गरेको छ ।
पाठकलाई काठमाडौंको वनस्थली क्षेत्रबाट उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए। उनले शनिबार राति सामाजिक सञ्जालमा भावुक गीतसहित रुँदै गरेको भिडियो पोस्ट गरेकी थिइन्, त्यसपछि उनको अवस्थाबारे चासो र चिन्ता बढेको थियो ।
प्रहरीले आइतबार बिहान करिब ९ः१५ बजे पाठकलाई फेला पारी उद्धार गरेको जनाएको छ । उद्धारपछि उनलाई मनोसामाजिक परामर्श तथा स्वास्थ्य परीक्षणका लागि मनमोहन अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
एसपी भट्टराईका अनुसार घटनाबारे थप बुझ्ने र आवश्यक परामर्श प्रदान गर्ने प्रक्रिया जारी छ । प्रहरीले उनका परिवारका सदस्यलाई समेत सम्पर्कमा बोलाएको छ ।
पाठकले पछिल्लो समय महेश बस्नेत लाई कानुनी दायरामा ल्याउनुपर्ने माग सार्वजनिक रूपमा उठाउँदै आएकी थिइन् ।
शनिबार राति फेसबुकमा पोस्ट गरिएको भिडियोमा ‘ए साथी सम्झनामा आऊ है, तिम्रो लागि संसारै रोयो तर तिमी नरोई नरोई जाऊ है’ भन्ने गीतको पृष्ठभूमिमा उनी भावुक अवस्थामा देखिएकी थिइन् ।






































