काठमाडौं— नेपाली कांग्रेसका नेता भुपेन्द्रजंग शाहीले पार्टीको १५औँ महाधिवेशनका लागि आफूले क्रियाशील सदस्यता पहिले नै नवीकरण (अध्यावधिक) गरिसकेको अवस्थामा पुनः अध्यावधिक गर्न दबाब दिनु अनुचित भएको बताएका छन् ।
शाहीले जारी गरेको प्रेस विज्ञप्तिमा पार्टी कसैको निजी सम्पत्ति नभएको उल्लेख गर्दै धम्की र मनपरी ढंगबाट पार्टी सञ्चालन हुन नसक्ने बताएका हुन् ।
उनले आफूहरू कसैको ‘दास र लास’ नभएको उल्लेख गर्दै सदस्यता अध्यावधिकको विषयमा पार्टी नेतृत्वसँग पाँच प्रश्न उठाएका छन् ।
उनले जेठ २१ भित्र पुनः अध्यावधिक नगरेको आधारमा वरिष्ठ नेता डा.शेखर कोइराला, उपसभापति पूर्णबहादुर खड्कालगायत आफूहरू सबैको सदस्यता खारेज गर्न खोजिएको हो कि भन्ने प्रश्न गरेका छन् ।
त्यस्तै, अध्यावधिकको नाममा अधिकांश सदस्यलाई बाहिर राखेर विशेष महाधिवेशनजस्तै प्रक्रिया अपनाई पार्टीमाथि एकलौटी नियन्त्रण स्थापित गर्न खोजिएको हो कि भन्ने आशंका पनि व्यक्त गरेका छन् ।
शाहीले पहिले नै नवीकरण गरिसकेका सदस्यलाई समेत पुनः अध्यावधिक नगरेको बहाना बनाएर जेठ २१ पछि सदस्यता रद्द गर्ने तथा पार्टी विभाजनतर्फ लैजाने षड्यन्त्र भइरहेको हो कि भन्ने प्रश्न उठाएका छन् ।
उनले जेठ २१ पछि आफूहरू सदस्यताविहीन भई स्वतन्त्र नागरिकका रूपमा रहनुपर्ने अवस्था सिर्जना हुने हो कि भन्ने जिज्ञासा पनि राखेका छन्। साथै, सदस्यता खारेज गरिए आफूहरूले पहिले नै बुझाएको नवीकरण शुल्क फिर्ता गरिने वा पार्टीले नै राख्ने भन्ने प्रश्नसमेत गरेका छन् ।
विज्ञप्तिमा शाहीले ‘जहाँ अन्याय, त्यहाँ विद्रोह’ भन्ने नारासहित पार्टी नेतृत्वलाई सदस्यता अध्यावधिक प्रक्रियाबारे स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह गरेका छन् ।





































