एजेन्सी— भारतको उत्तर प्रदेश राज्यस्थित हमीरपुर जिल्लामा गएराति निर्माणाधीन पुल भत्किँदा ६ जना मजदुरको मृत्यु भएको छ । भग्नावशेषमुनि पुरिएका अन्य तीन मजदुरलाई उद्धार गरी अस्पताल पठाइएको छ ।

स्थानीय प्रशासनका अनुसार पुल निर्माण कार्य भइरहेको समयमा अचानक संरचना भत्किएको थियो । त्यतिबेला त्यहाँ काम गरिरहेका मजदुरहरू पुलको भग्नावशेषमुनि पुरिए । मृत्यु हुनेमध्ये दुई जना हमीरपुर र चार जना बान्डा जिल्लाका रहेका छन् ।

दुर्घटना राति आएको आँधीबेहरीका कारण भएको हो कि भन्ने प्रश्नमा अतिरिक्त प्रहरी उपरीक्षक अरविन्दकुमार वर्माले घटनास्थलमै अनुसन्धान भइरहेको र जाँचपछि मात्रै वास्तविक कारण खुल्ने बताएका छन् ।

दोषी पाइए कारबाही गरिने पनि उनले बताएका छन् । अधिकारीहरूका अनुसार राहत तथा उद्धार कार्य रातभर सञ्चालन गरिएको थियो । जेसीबी मेसिनको सहायताले भग्नावशेष हटाएर मजदुरहरूलाई बाहिर निकालिएको हो । घाइतेहरूलाई नजिकका अस्पतालमा भर्ना गरिएको छ ।

दुर्घटनापछि पुल निर्माणको गुणस्तर र सुरक्षा मापदण्डबारे प्रश्न उठ्न थालेका छन् । जिल्ला प्रशासन तथा लोक निर्माण विभागका अधिकारीहरू घटनास्थल पुगेका छन् । अधिकारीहरूले घटनाबारे छानबिनका आदेश दिइसकेको बताएका छन् । 

जाँच दुर्घटना खराब मौसमका कारण मात्र भएको हो वा निर्माण कार्यमा लापरबाही पनि थियो भन्ने विषयमा केन्द्रित हुने बताइएको छ । बिहीबार राति उत्तर प्रदेशका विभिन्न क्षेत्रमा आँधीबेहरी, वर्षा र चट्याङका घटना भएका थिए । मौसम विभागले यसअघि नै खराब मौसमको चेतावनी जारी गरेको थियो ।