वीरगञ्ज— किर्ते नागरिकता मुद्दामा पक्राउ अनुमति जारी भएपछि फरार रहेका वीरगञ्जमहानगरपालिकाका नगरप्रमुख (मेयर) राजेशमान सिंहको खोजी कार्यलाई जिल्ला प्रहरी कार्यालय पर्साले तीव्र पारेको छ । मेयर सिंहलाई  पक्राउ गर्न प्रहरीले विशेष टोलीसमेत परिचालन गरेको छ ।

मेयर सिंहलाई पक्राउ गर्न प्रहरी टोली परिचालन भइसकेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकले जानकारी दिए । मंगलबार मेयर सिंहसहित ४ जनाको नाममा पर्सा जिल्ला अदालतबाट पक्राउ अनुमति पत्र (पुर्जी) प्राप्त हुनासाथ प्रहरीले उनको खोजी कार्यलाई तीव्र बनाएको थियो ।

मेयर सिंह अदालतमा हाजिर हुन जाँदा प्रहरीलाई सोको जानकारी किन नगराइएको र कसको संरक्षणमा उनी सुटुक्क अदालत छिरे भन्ने विषयमा समेत प्रहरीले विशेष अनुसन्धान सुरु गरेको छ ।

प्रहरी स्रोतका अनुसार मेयर सिंह अदालतमा आएको सूचना ढिलो गरी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट विशेष टोली अदालत पुगेको थियो । तर, प्रहरी टोली पुग्नुभन्दा पहिल्यै मेयर सिंह त्यहाँबाट फरार भइसकेका थिए ।

फरार भएका मेयर सिंहको खोजीका लागि जिल्ला प्रहरी कार्यालय पर्साले सम्भावित क्षेत्रहरूमा विशेष टोली परिचालन गरी निगरानी बढाएको छ । कानुनको नजरमा फरार रहेका स्थानीय सरकारका प्रमुख नै प्रहरीलाई छक्याउँदै हिँड्न थालेपछि वीरगन्जको प्रशासनिक र राजनीतिक वृत्तमा तरंग पैदा भएको छ ।