काठमाडौं— राजधानीको व्यस्त क्षेत्र बानेश्वरमा फुटपाथ निर्माण तथा मर्मतको काम अस्तव्यस्त बन्दा पैदल यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । पटक–पटक इटा उखेल्ने र पुनः बिछ्याउने काम भइरहँदा फुटपाथ क्षेत्रमा जथाभावी छाडिएका इटा, ब्लक तथा ठूला खाल्डाका कारण सर्वसाधारणले सास्ती भोग्नुपरेको हो ।
विशेषगरी ज्येष्ठ नागरिक, शारीरिक रूपमा अशक्त तथा दृष्टिविहीन व्यक्तिहरूलाई आवतजावत गर्न थप कठिनाइ भइरहेको स्थानीयले बताएका छन् । रातिको समयमा पर्याप्त व्यवस्थापन नहुँदा दुर्घटनाको जोखिम अझ बढेको उनीहरूको गुनासो छ ।
निर्माण सामग्री व्यवस्थित नगरी सडक किनारमै छरपस्ट राखिँदा पैदल यात्रुहरू बाध्य भएर सडकमै हिँड्नुपर्ने अवस्था सिर्जना भएको छ । स्थानीयवासीले सम्बन्धित निकायलाई निर्माण कार्य छिटो सम्पन्न गर्दै फुटपाथलाई सुरक्षित र व्यवस्थित बनाउन आग्रह गरेका छन् ।





































