खोटाङ— खोटाङमा अब राहदानी लिन जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ । जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको राहदानी घर–घरमै पुर्‍याएर वितरण गर्न जिल्ला हुलाक कार्यालयलाई जिम्मेवारी दिएको हो ।

नेपाल सरकारको निर्देशनअनुसार वैशाख १५ गतेपछि आवेदन दिएका सेवाग्राहीमध्ये ३७ जनाको राहदानी घरमै पुर्‍याउने प्रक्रिया सुरु गरिएको राहदानी शाखा प्रमुख दिनेश आचार्यले बताएका छन् ।

प्रशासन कार्यालयले बायोमेट्रिक विवरण संकलन गरी राहदानी विभाग पठाउने र छापिएर आएपछि हुलाक कार्यालयलाई बुझाउने व्यवस्था गरिएको छ । त्यसपछि हुलाक कार्यालयले सम्बन्धित सेवाग्राहीको घरमै पुगेर राहदानी वितरण गर्नेछ ।

घरमै राहदानी बुझ्दा सेवाग्राहीले टिकट शुल्कबापत ४५ रुपैयाँ तिर्नुपर्नेछ । उक्त रकम राजस्वका रूपमा राज्यकोषमा जम्मा हुने जनाइएको छ ।

जिल्ला हुलाक कार्यालय खोटाङका सूचना अधिकारी शम्भू तामाङका अनुसार स्थानीय तह र जनप्रतिनिधिको सहयोगमा राहदानी वितरण सुरु गरिएको हो । नजिकका सेवाग्राहीले आजै र टाढाका सेवाग्राहीले भोलिदेखि राहदानी पाउनेछन् ।

यस व्यवस्थाबाट सेवाग्राहीको समय र खर्च दुवै बचत हुने अपेक्षा गरिएको छ । दुर्गम क्षेत्रका नागरिकलाई राहदानी लिन सदरमुकाम आउँदा धेरै दिन र हजारौँ रुपैयाँ खर्च हुने समस्या अब कम हुने भएको छ ।