अर्घाखाँची— जिल्लामा जंगली च्याउ खाएर एक महिलाको मृत्यु भएको छ । जंगली च्याउ खाएर बिरामी परेकी शितगंगा नगरपालिका–१३, जौंबारीकी ४७ वर्षिया मनकला भुसालको उपचारको क्रममा मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक झलकप्रसाद शर्माले जानाकारी दिए ।

यही जेठ ६ गते जंगलबाट च्याउ ल्याएर खाएपछि मनकला बिरामी परेकी थिइन् । लगातार बान्ता भएपछि उनलाई सुरुमा स्थानीय अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको थियो ।

मंगलबार प्रादेशिक अस्पतालमै उपचारको क्रममा उनको मृत्यु भएको प्रहरी निरीक्षक शर्माले बताए । उनका अनुसार घरका अन्य सदस्यहरूको अवस्था भने सामान्य रहेको छ ।