काठमाडौं— श्रम संस्कृति पार्टीका सांसद आरेन राईले नेपालमा उत्पीडित तथा आदिवासी समुदायहरूले आफ्नो अधिकारको आवाज उठाउँदा उनीहरूलाई जातिवादी, धार्मिक अतिवादी लगायतका विभिन्न आरोप लगाएर भ्रम फैलाउने प्रवृत्ति अझै कायम रहेको बताएका छन् ।

सोमबार नेपाल आदिवासी जनजाति महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आदिवासी अधिकारकर्मीहरूलाई राज्य र समाजको एक हिस्साबाट आफूहरूलाई तुच्छ दृष्टिकोणले हेर्ने कुदृष्टिले गरेको बताए ।

उनले भने, ‘नेपालको इतिहासमा विशेष गरी उत्पीडित समुदायहरू माथि जब अधिकारको कुरा गरिन्छ । तब उनलाई जातिवादी, धार्मिक अतिवादी विभिन्न किसिमको अफवाहहरू फैलाएर झुटो भ्रमित विचारहरू दुष्प्रचार गरेर आदिवासी अधिकारकर्मीहरूलाई वास्तवमै यो समाजमा एकदम तुच्छ दृष्टिकोणले हेर्ने राज्यको कुदृष्टि छ ।’

उनले भने, ‘विभिन्न आदिवासी आन्दोलनहरूमा सम्बोधन गर्ने बेला सडकमा मैले हिजो पनि भन्दै आएकै छु, हामी जुन—जुन दलबाट माननीय सांसद राज्यको एउटा प्रतिनिधित्व गरिरहँदा खेरी हाम्रो अधिकार भन्दा, हाम्रो पहिचान भन्दा, हाम्रो इतिहास भन्दा कहिल्यै पनि हाम्रा पद हामीले प्राप्त गरेको पद ठूलो कुरा होइन ।’

यसैगरी, कांग्रेसका सांसद निस्कल राईले आदिवासी जनजाति अधिकारको सवालमा सरकारले स्पष्ट र प्रभावकारी ढंगले अघि बढ्नुपर्ने आवाज उठेको बताएका छन् । उनले राजनीतिक दलभन्दा बाहिरका व्यक्तिले नियुक्ति गर्ने उद्देश्यसहित ल्याइएको अध्यादेशप्रति टिप्पणी गर्दै उनले कुनै पनि व्यक्ति पूर्ण रूपमा राजनीतिक सोचभन्दा अलग हुन नसक्ने बताएका छन् ।

उनले हरेक व्यक्ति कुनै न कुनै विचार, दर्शन वा राजनीतिक फिलोसोफीबाट प्रभावित हुने भएकाले राजनीतिक सोचभन्दा पर भन्ने अवधारणालाई व्यवहारिक रूपमा हेर्नुपर्ने बताए ।