काठमाडौं— नेपाली कांग्रेसका नेता एवम सामाजिक अभियन्ता महेश नेपालीले पार्टी बैचारिक रुपमा फुट्न नसक्ने बताएका छन् । अध्याँरो कोठामा बसेर निर्णय गर्ने परिपाटीका कारण कांग्रेस हालको अवस्थामा आइपुगेको पनि उनले बताए ।

नेपाल न्यूज बैंकसँगको संवादमा नेपालीले विगतका नेतृत्वहरुले गरेका कमजोरीका कारण विशेष महाधिवेशको अवस्था आइपुगेको र विशेष महाधिवेशनलाई नजरअन्दाज गर्दा परिस्थिति पेचिलो बनेको उनको भनाइ छ ।

‘नेतृत्वले जहिले पनि दूरदर्शिता लिनुपर्दछ भन्ने कुरा विर्सियो । नेतृत्वले भदौ २३ र २४ गतेको विद्रोह हुँदैछ भन्ने कुरा पनि थाहा पाएन । र कार्यकर्ताहरुले विशेष महाधिवेशन गर्दैछन् भन्नेपनि नेतृत्वले चाल पाएन । त्यस हिसाबले नेतृत्व असफल भएको देखियो,’ उनले भने ।

‘पार्टी विधानमा नियमित महाधिवेशन हुन नसकेको अवस्थामा विशेष महाधिवेशन गर्न सकिन्थ्यो भन्ने कुरा थियो । नेतृत्वले नियमित महाधिवेशन तोकिसकेपछि विशेषको अवस्था सिद्धियो भनेर जुन किसिमले आंकलन गर्नु नै गलत थियो,’ उनले भने ।

जेनजी विद्रोह कांग्रेसविरुद्ध पनि रहेकाले फागुन २१ को निर्वाचनले पार्टीलाई खुम्चाइदिएको उनले बताए । हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गरेकाले हरेक आन्दोलन कम्प्रोमाइजका माध्यमबाट परिवर्तनको आवाजलाई सेफल्यान्डिङ गरिएको उनको भनाइ छ ।

नेपाली कांग्रेस कहिल्यै नजुटेको र नफुटेको इतिहास रहेको उल्लेख गर्दै नेता नेपालीले देउवा–कोइराला पनि एक ठाउँमा आउनुपरेको दृष्टान्त पहिल्याए ।

‘देशमा संकट वा व्यवस्था जोगाउने सवालमा कांग्रेस एक ठाउँमा भएको इतिहास छ । आजका दिनमा पनि प्रजातन्त्रमा केही न केही आघात पुर्याउन थालियो भने कांग्रेस फेरि एकत्रित भएर नै अगाडि बढ्छ,’ उनले भने ।

कांग्रेसभित्र विगतमा पनि समानन्तर गतिविधि हुने गरेको उल्लेख गर्दै उनले हाल भइरहेका गतिविधिलाई अनौठो रुपमा लिन नपर्ने उनको भनाइ छ ।

‘हामीले इतिहासलाई बुझेर, वर्तमानका कुराहरुलाई अगाडि बढाउँदै भविष्य निर्माण गर्ने कुरामा अग्रसर हुनुपर्छ, युवाहरुको त्यही नै चाहना हो। एकत्रित भएर नै अगाडि बढ्छ, फुट कहिँ पनि दिगो पनि रहँदैन र कांग्रेसमा पनि दिगो रहँदैन । इतिहासले त्यही देखाउँछ,’ उनले भने ।

पदका लागि पार्टी धेरपटक चोइटिएको उल्लेख गर्दै उनले चोइटिएर जानेहरु विलाएर हराउने उनको दाबी छ ।