काठमाडौं— गत शुक्रबार देखि प्रदर्शन भएको नेपाली चलचित्र ‘काजी’ लाई दर्शकले रुचाएका छन् । अभिनेता विपिन कार्की र अभिनेत्री केकी अधिकारी अभिनित विशुद्ध प्रेमकथामा आधारित फिल्मले मन छोएको प्रतिक्रिया दर्शकले दिईरहेका छन् । फिल्म हेर्न आएका दर्शकले फिल्ममा देखाईएको प्रेम कथाको चर्चा गरेका छन् ।
फिल्ममा अभिनेता विपिन कार्की (काजी) र अभिनेत्री केकी अधिकारी (कजिनी) को भूमिकामा छिन् । कजिनीसँगको प्रेमका कारण काजीले के कस्ता त्यागसम्म गर्छन् भन्ने फिल्ममा देखाईएको छ । काजीको प्रेम ‘मुना मदन’ र ‘रोमियो एण्ड जुलियट’ जस्तै अमर हुने दर्शकको भनाइ छ । फिल्म हेर्ने दर्शकले ‘वाह! काजीको जस्तो ओ प्रेम’, ‘श्रीमान् होस् त काजीको जस्तो’ लगायतका प्रतिक्रिया दिईरहेका छन् ।
‘काजी’ देखाईको प्रेमले जो सुकै दर्शकलाई ‘कनेक्ट’ गर्ने अभिनेता विपिन कार्कीले बताए । उनले भने, ‘काजीको प्रेमसँग दर्शक जोडिएको महसुस गरें । म प्रतिक्रिया लिन पुगेका अधिकाँस हलमा दर्शकले ‘गज्जब प्रेमकथा’ भन्ने प्रतिक्रिया दिएका छन । म आफैँलाई पनि धेरैसमयपछि छोएको एउटा प्रेम कथा हो, जसलाई हामीले पर्दामा ल्याएका छौँ ।’
उनले ‘काजी’ धेरै वर्षसम्म चर्चा हुने प्रेम कथानक बन्ने विश्वास व्यक्त गरे । लक्ष्मण रिजालको निर्देशनमा तयार भएको फिल्मलाई रामप्रसाद रिजालले निर्माण गरेका हुन् । निर्माता रिजालले फिल्मले दर्शकबाट सकारात्मक ‘वर्ड अफ माउथ’ पाएपछि हलमा चाँप बढेको बताए ।
‘डिल डेबाट फिल्म हेर्ने दर्शक बढेको रिपोर्ट वितरकले दिएका छन् । हामीले प्रस्तुत गरेको प्रेमकथालाई दर्शकले रुचाएकै कारण सिफारिस गरिरनुभएको छ । हामीले विना कन्जुस्याइँ एउटा स्तरीय फिल्म दर्शकसम्म ल्याएका छौँ, आफैँले हेरेर मुल्यांकन गर्न अनुरोध गर्दछु’, निर्माता रिजालले भने ।
प्रदर्शनको पहिलो दिन अभिनेता विपिन कार्की, अभिनेत्री गरिमा शर्मा, निर्देशक लक्ष्मण रिजाल, निर्माता रामप्रसाद रिजाल लगायत काठमाडौं उपत्यका भित्र रहेका विभिन्न हलमा पुगेर दर्शकसँग प्रतिक्रिया लिएका थिए ।
फिल्मका निर्देशक लक्ष्मण रिजालले ‘काजी’ गाउँको मुखिया वा ठूलाबडाको कथा नभई प्रेम, समर्पण र सम्बन्धको भावनात्मक यात्रामा आधारित रहेको बताए ।अभिनेत्री केकी अधिकारीले पनि आफ्नो अभिनय यात्रामा ‘काजी’ विशेष महत्व राख्ने बताइन् । रिजाल एन्ड रिजाल प्रोडक्सनको प्रस्तुति रहेको फिल्मका निर्माता रामप्रसाद रिजाल हुन् ।
फिल्ममा विपिन कार्की र केकी अधिकारीसँगै गरिमा शर्मा, हेमन्त बुढाथोकी, प्रकाश घिमिरे, विशाल पहारी, हिउँवाला गौतम, अनुराग कुँवर, सन्दीपबाबु लोहनी, विनोद न्यौपाने, रश्मि भट्ट, प्रीतिका शर्मा र प्रशंसा सुवेदीलगायत कलाकारहरूको अभिनय रहेको छ ।






































