इलाम— मेची राजमार्गअन्तर्गत माईखोला–राजदुवाली–गोलाखर्क भञ्ज्याङ् खण्डमा सडक लगातार भासिन थालेपछि स्थानीय त्रसित बनेका छन्। करिब ३ किलोमिटर क्षेत्रमा समस्या बढ्दै जाँदा यातायात आवागमनसमेत प्रभावित भएको छ।
स्थानीयका अनुसार २०७२ सालको भूकम्पपछि सडक धसिने समस्या सुरु भएको हो। वर्षायाममा जोखिम झन् बढ्ने गरेको उनीहरूको भनाइ छ।
सडक भासिनुको कारणबारे स्थानीयले पुवाखोला जलविद्युत केन्द्रको सुरुङबाट पानी चुहावट (सिपेज) भएको आशंका गरेका छन्। आयोजना २०५७ सालदेखि सञ्चालनमा छ।
शनिबार जिल्ला प्रशासन कार्यालय इलामको नेतृत्वमा सडक डिभिजन, सुरक्षा निकाय र जलविद्युत केन्द्रसहितको टोलीले स्थलगत अनुगमन गरेको थियो। अनुगमनमा सुरुङभित्र केही स्थानमा सामान्य पानी चुहावट भेटिए पनि यही नै मुख्य कारण हो भन्ने पुष्टि नभएको अधिकारीहरूले बताएका छन्।
सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले विस्तृत प्राविधिक अध्ययनपछि मात्रै वास्तविक कारण पत्ता लाग्ने बताए। जलविद्युत केन्द्रले पनि विज्ञ टोली ल्याएर थप अध्ययन गरिने जनाएको छ।
प्राविधिकहरूका अनुसार कमजोर भूगर्भ, भूकम्पको असर, भूमिगत पानीको बहाव र सुरुङजस्ता संरचनाको संयुक्त प्रभावले समस्या निम्तिएको हुन सक्छ।
दैनिक सयौँ सवारी गुड्ने यो खण्डमा ठूलो दुर्घटनाको जोखिम बढेकाले स्थानीयले तत्काल दीर्घकालीन समाधानको माग गरेका छन्।






































