काठमाडौं— काठमाडौं महानगरपालिकाले ऐतिहासिक टुँडिखेललाई व्यवस्थित ‘घाँसे मैदान’का रूपमा विकास गर्ने कार्य सुरु गरेको छ। महानगरको सार्वजनिक निर्माण विभागमार्फत परियोजना अघि बढाइएको हो।
महानगरका अनुसार मैदान निर्माणका लागि करिब २ करोड ४२ लाख रुपैयाँभन्दा बढी लागत अनुमान गरिएको छ। परियोजनाअन्तर्गत टुँडिखेल क्षेत्रमा घाँस रोप्ने, जमिन सम्याउने तथा मैदानलाई व्यवस्थित र आकर्षक बनाउने काम गरिनेछ।
महानगरपालिकाले टुँडिखेललाई खुला सार्वजनिक स्थलका रूपमा संरक्षण गर्दै नागरिकका लागि थप उपयोगी, हरियालीयुक्त र व्यवस्थित बनाउने उद्देश्यले परियोजना सुरु गरिएको जनाएको छ।
टुँडिखेल काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको खुला क्षेत्र भएकाले यसको संरक्षण र सौन्दर्यीकरणलाई महानगरले प्राथमिकतामा राखेको बताइएको छ।






































