काठमाडौं— कास्कीको पोखरा महानगरपालिका–१७ स्थित सेती नदीको खोचबाट सोमबार (आज) बिहान सशस्त्र प्रहरी बलको टोलीले एकजनाको शव निकालेको छ ।

भारत घर भई पोखरा–१७, घारीपाटनमा बस्दै आएका अन्दाजी ३४ वर्षीय मुकेश महतो आइतबार राति उक्त नदीमा हाम फालेर बेपत्ता भएका थिए । उनको खोजीमा सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गणबाट राति नै टोली खटिएको थियो । तर, फेला नपरेपछि टोली फर्किएको थियो ।

सोमबार बिहान पुनः विपद् व्यवस्थापन तालिमप्राप्तसहितको टोली खटिएको थियो । उक्त टोलीले २५० फिट तल सेतीको खोचबाट उनको शव बाहिर निकालेको सशस्त्र प्रहरीका प्रवक्ता एवं डीआईजी विष्णुप्रसाद भट्टले जानकारी दिए ।