काठमाडौं— जेनजी नेतृ सरिस्मा थापाले जेनजी आन्दोलन सत्ता प्राप्तिका लागि नभई सुशासन, पारदर्शिता र संस्थागत सुधारका लागि भएको बताएकी छन् ।

स्वतन्त्र नागरिक अभियानले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले जेनजी आन्दोलनमार्फत संस्थागत सुधार र रिफर्मेशन खोजिएको उल्लेख गरिन् ।

उनले भनिन्, ‘हामीले जेनजी आन्दोलनमार्फत संस्थागत सुधार र रिफर्मेशन खोजेका थियौँ । यो आन्दोलन सुशासनका लागि भएको हो भन्ने भाषा सबैका अगाडि राख्न चाहेका हौँ । दण्डहीनताको अन्त्य होस्, सार्वजनिक सेवा प्रणालीमा सुधार होस्, सरकारको काममा पारदर्शिता होस् र ‘सरकार कसैको होइन, जसको कोही छैन उसको राज्य छ’ भन्ने भाषामा अगाडि बढोस् भन्नका लागि आन्दोलन भएको हो । तर ‘मलाई बोल्न दे सरकार’ भनेर सुरु भएको आन्दोलन चुपचापमा बदलिएको हामीले थाहा पाउन सकेका छैनौँ ।’

थापाले सरकारलाई प्रश्न गर्दा आफूहरूलाई विरोधीको रूपमा चित्रित गरिएको गुनासो गरिन् ।

उनले भनिन्, ‘हामी अहिले सरकारलाई प्रश्न गर्न खोजिरहेका छौँ । तर सरकारलाई प्रश्न गर्दा सरकारकै विरोधीका रूपमा प्रस्तुत गरिएको छ । राम्रो गर्न चाहानेलाई विरोधी भन्ने भाषा परिवर्तन गराइ हामीमाथि हेरिएको छ । हामीले सडकमा लडेर रगत बगाएर ल्याएको सरकार हो नि त । हामीले नै प्रश्न नसोधे कसले सोध्ने रु आजको सरकारलाई प्रश्न सोध्नु भनेको हिजोको सरकारलाई राम्रो भन्न खोजेको होइन । हिजोको सरकारले गलत गरेकै कारण जेनजी आन्दोलन भएको हो ।’

उनले जेनजी आन्दोलनले सत्ता नभई १० बुँदे सम्झौताको कार्यान्वयन माग गरेको स्पष्ट पारिन् ।

‘जेनजीले मागेको १० बुँदे सम्झौता हो, कुनै पनि सत्ता होइन । सम्झौता पूरा गर्न सक्दैन भने बालेन सरकारले ८० जना मरेका मान्छेको ज्यान फिर्ता दिन सक्नुपर्छ । १० बुँदे सम्झौतामा प्रधानमन्त्री पद मागिएको होइन, मतअधिकारका लागि चुनाव मागिएको हो । संविधान सुधारको बहस होइन, संविधान सुधार आयोग मागिएको हो । जेनजी परिषद्बाट नेपालभरका जेनजीहरूको आवाज समेट्ने थलोका रूपमा जेनजी परिषद् मागिएको हो,’ उनले भनिन् ।

कार्यक्रममा जेनजी नेतृ मुस्कान खातुनले पनि आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाउँदा समेत जेनजी पुस्ताको आवाज सम्बोधन हुन नसकेको बताइन् ।

उनले भनिन्, ‘जेनजी आन्दोलनका खातिर कति युवाहरूले ज्यान गुमाए तर जेनजी पुस्ताको आवाज पूरा हुन सकेको छैन । जेनजी युवाहरूको भावना बुझ्न सक्ने सरकार बनेको छैन जस्तो महसुस भइरहेको छ । आन्दोलनमा घाइते भएकाहरू अझै अस्पतालमा छटपटाइरहेका छन् । तर पनि समाज परिवर्तन हुन सकेको छैन । सरकारसमक्ष माग राख्दा सरकारको विरोध गरेको भन्ने सुनिन्छ, तर त्यो विरोध होइन ।’