दोलखा— दोलखाको वैतेश्वर–३ स्थित (सामुदायिक) कालिढुङ्गा माध्यमिक विद्यालय जोगाउन स्थानीयले करिब ४ रोपनीभन्दा बढी जग्गा दान गरेका छन्। विद्यार्थी संख्या घटेर विद्यालय बन्द हुने अवस्थामा पुगेपछि मिर्गे क्षेत्रका स्थानीयले नजिकै शाखा विद्यालय स्थापना गर्ने निर्णय गरेका हुन्।
देविथान नजिक दान गरिएको जग्गामा अस्थायी ट्रस भवन बनाएर बाल विकासदेखि कक्षा ७ सम्म पढाइ सुरु गरिएको छ, जसले साना विद्यार्थीलाई टाढा जानुपर्ने बाध्यता हटाएको छ।
विद्यालय उद्घाटन गाउँपालिका अध्यक्ष छवि लामा र वडा अध्यक्ष कमल अधिकारीले गरेका थिए। गाउँपालिकाले भौतिक संरचना र शिक्षक व्यवस्थापन गर्ने जनाएको छ। स्थानीय करिब १५ जनाले जग्गा दान गरेका छन्।
विद्यालयलाई जग्गा दान गर्ने स्थानीयहरूमा बम बहादुर तामाङ, गंगी तामाङ, माला तामाङ, खेशर तामाङ, दुर्गा बहादुर थापा, भिम्शेन थापा, टलक तामाङ, रवि तामाङ, यम बहादुर तामाङ, निकेश तामाङ, रोलिना तामाङ, मनिक तामाङ, भिम बहादुर तामाङ, ढाल बहादुर तामाङ लगायत १५ जना रहेका छन् ।






































