काठमाडौं— जातीय विभेदका कारण समाजमा देखा परिरहेको संरचनागत असमानता, हिंसात्मक घटनाहरू तथा ऐतिहासिक रूपमा कायम रहँदै आएको उत्पीडनप्रति आपत्ति जनाउँदै काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ।
जात व्यवस्था उन्मूलन मोर्चा नेपाल अन्तर्गत प्रथम राष्ट्रिय सम्मेलन आयोजक समितिको समन्वयमा आयोजित उक्त प्रदर्शनमा देशका विभिन्न भागबाट आएका प्रभावित समुदायका सदस्य, अधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
प्रदर्शनलाई सहभागीहरूले सामाजिक न्याय, समानता र मानवअधिकारका सवालसँग जोड्दै प्रतीकात्मक प्रतिरोध दिवसका रूपमा प्रस्तुत गरेका थिए। छ वर्षअघि रुकुम जिल्लाको सोतीमा प्रेम सम्बन्धका कारण भएको भनिएको घटनामा नवराज विकसहित छ जनाको मृत्यु भएको घटनालाई स्मरण गर्दै उक्त दिनलाई प्रतिरोध र न्यायको मागसँग जोडिएको उल्लेख गरिएको थियो।
प्रदर्शनकारीहरूले जातीय विभेदका कारण अन्तरजातीय सम्बन्धमै आधारित हिंसात्मक घटनाहरू दोहोरिनु गम्भीर चुनौती भएको भन्दै राज्य संरचनाभित्र विद्यमान विभेदकारी मानसिकता अन्त्य नभएसम्म लोकतान्त्रिक अभ्यास पूर्ण नहुने धारणा राखेका छन्।
विरोधका क्रममा सहभागीहरूले भूमिहीन दलित समुदायका लागि उपयुक्त जमिनको व्यवस्था, दलित विद्यार्थीहरूका लागि छात्रवृत्ति तथा निस्शुल्क शिक्षाको सुनिश्चितता, र विगतका जातीय हिंसासम्बन्धी घटनाको छानबिन गर्न स्वतन्त्र तथा उच्चस्तरीय आयोग गठन गर्नुपर्ने माग अघि सारेका छन्।
प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोजक पक्षले जनाएको छ।






































