झापा— पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु एक लाख १८ हजार नगदसहित एक युवालाई बेहोस अवस्थामा उद्धार गरेको छ ।
पाल्पाको रामपुर गाउँपालिका–२ का ३२ वर्षीय हरि थापा अत्यधिक मादक पदार्थ सेवन गरी शनिबार साँझ छ बजेतिर सडकमा बेहोस भएर लडिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले उद्धार गरेको थियो ।
उद्धारलगत्तै थापालाई उपचारका लागि तत्काल धुलाबारीस्थित आम्दा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । उपचारपछि अस्पतालबाट ‘डिस्चार्ज’ भएका थापा हालसम्म प्रहरीको सम्पर्कमा नआएको प्रवक्ता खड्काले भनाइ छ ।
थापाका साथबाट बरामद गरिएको उक्त नगद इलाका प्रहरी कार्यालय काँकडभिट्टामा सुरक्षित राखिएको प्रवक्ता खड्काले बताए । प्रहरीले उनको मोबाइल नम्बरमा सम्पर्क गर्न प्रयास गरे पनि हालसम्म फोन लाग्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनी सम्पर्कमा आएलगत्तै प्रहरी सो रकम जिम्मा लगाइने जनाइएको छ । भारतबाट नेपाल फर्केका थापाले शनिबार नेपाल–भारत बस सेवाबाट रात्रिबसमार्फत काठमाडौं जाने गरी टिकट लिइसकेका थिए । नशाले लट्ठिएपछि उनको बस छुटेको थियो ।






































